गुरुङ समुदाय नेपालका मूलवासी भूमिपुत्र मङ्गोल वर्गको समुदाय हो । यो समुदाय मुख्यत: गण्डकी प्रदेशमा बसोबास गर्छन् । विशेष गरी लमजुङ, कास्की, तनहुँ, गोरखा, पर्वत, स्याङजा, अन्नपूर्ण हिमश्रृङ्खलाको आसपासका क्षेत्र तथा मनाङमा गुरुङ समुदायको बाहुल्यता पाइन्छ । केही गुरुङहरू बागलुङ, ओखलढुङ्गा, ताप्लेजुङ तथा माछापुच्छ्रे हिमालको आसपासका क्षेत्रमा समेत बसोबास गर्छन् । थोरै संख्यामा सिक्किम र भूटानमा समेत गुरुङहरू रहेको अनुमान गरिएको छ । तिब्बतको दक्षिणी जिल्लाहरूलाई गुरुङ जातिको उत्पत्तिस्थल मानिन्छ भने केही विद्वान्हरूका अनुसार गुरुङहरू मङ्गोलियाबाट बसाइँसराइ गरी आएका हुन् ।
समुद्री सतहबाट करिब १,४७० मिटर उचाइमा अवस्थित ल्वाङ गाउँ जैविक हिमालयन चिया खेतीका लागि प्रसिद्ध छ । पोखरासँग जोडिएको माछापुच्छ्रे गाउँपालिका ८ स्थित मर्दी खोलाको शिरमा अवस्थित यो गाउँ माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलाको काखमा रहेको सुन्दर बस्ती हो । गुरुङ संस्कृति झल्कने यो गाउँ अत्यन्तै मनमोहक छ । के तपाईं यहाँ घुम्नुभएको छ ? यदि छैन भने, आज हामी यस गाउँको यात्रामा निस्कौं !
ल्वाङ गाउँका घरहरू ढुङ्गाका छानाले ढाकिएका छन्, मौरीका घारहरू टाँसिएका छन्, आँगन र बाटाहरू ढुङ्गाले छापिएका छन् । एकै प्रकारका, आकर्षक, कलात्मक र लोभलाग्दा घरहरू यहाँ पाइन्छन् । सेतो र गेरू रंगमा पोतिएका घरहरू गुरुङ वास्तुकलाको सुन्दर उदाहरण हुन् । भ्याल, ढोका तथा कलात्मक शैलीमा बनेका यी घरहरू गाउँको विशेषता हुन् ।
गण्डकी प्रदेशको कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका ८ मा रहेको ल्वाङ गाउँ पोखराको हरिचोकबाट मात्र २० किलोमिटर दूरीमा अवस्थित छ । यहाँ पुग्न पोखराको टुडीखेलस्थित हरिचोकबाट हेम्जा, मिलनचोक, मर्दीपुल, खानेपानी, भेडाबारी, खोरामुख, भाङखोला हुँदै करिब १ घण्टा ३० मिनेट यात्रा गर्नुपर्छ । गर्मी मौसममा शीतलता महसुस गर्न, व्यस्त जीवनको थकान मेट्न तथा प्राकृतिक सुन्दरताको आनन्द लिन पर्यटकहरू यहाँ आउँछन् । माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न, १,७०० रोपनीमा फैलिएको चियाबगान हेर्न तथा चैत्र वैशाख महिनामा फुल्ने लालीगुराँसको सौन्दर्य अवलोकन गर्न आन्तरिक पर्यटकको ओइरो लाग्ने गर्छ ।
गाउँमा प्रवेश गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई गुरुङ महिलाहरूले परम्परागत पोशाकमा फूल, अबिर, टीका तथा मालाले स्वागत गर्छन् । यहाँको गुरुङ सभ्यता, आतिथ्य सत्कार, सांस्कृतिक विविधता, रहनसहन, बोलीचाली, जीवनशैली अद्भुत छन् ।
२०६७ सालमा सामुदायिक होमस्टेको सुरुवातपछि आन्तरिक एवम् बाह्य पर्यटकहरूको चाप बढेको छ । स्थानीय बासिन्दाका अनुसार होमस्टे संचालन भएपछि ल्वाङ गाउँ प्रचारमा आएको हो । होमस्टेको प्रभावले पर्यटकहरू गाउँको मौलिकता, संस्कृतिलाई नजिकबाट अनुभूति गर्न सक्छन् । गुरुङ समुदायको आतिथ्य सत्कार, मेलमिलाप, सहयोगी भावना यहाँको पहिचान हो । जो कोही यहाँ पुग्छन्, तिनीहरूको मानसिक तथा शारीरिक थकान क्षणभरमै हट्छ ।
ल्वाङ गाउँको प्रमुख व्यवसाय पर्यटन (होमस्टे), सैन्य सेवा, वैदेशिक रोजगार, जैविक चिया खेती, स्थानीय वस्तु उत्पादन तथा कृषि हो । स्थानीय उत्पादन तथा मौलिक संस्कृति प्रवर्धन गर्न यहाँ ठेठ नेपाली खाना, सांस्कृतिक कार्यक्रम, गुरुङ परम्परागत नृत्य (घाँटु, सोरठी, मारुनी) प्रदर्शन गरिन्छ ।
नेपालका यस्ता प्राकृतिक, सांस्कृतिक महत्त्व बोकेका स्थानहरूको प्रचार प्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटक भित्र्याएर आर्थिक समृद्धिको स्रोत बनाउनु आवश्यक छ । कुनै पनि जाति समुदायको जीवनशैली, रहनसहन, भाषा, संस्कार तथा संस्कृति बुझ्न गहिरो अध्ययन आवश्यक छ । विविध जाति, धर्म, भाषा, संस्कार र संस्कृतिको धनी हाम्रो नेपालमा सबै समुदायलाई समान महत्त्व दिँदै, यस्ता सभ्यताहरूको प्रवर्द्धन गर्नुपर्छ ।
राज्यको तर्फबाट यस्ता क्षेत्रहरूको संरक्षण र उचित व्यवस्थापन गरी ओझेलमा परेका प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाको विकासमा ध्यान जान आवश्यक छ । यसरी मात्रै स्थानीय समुदाय सशक्त बन्न सक्छ र पर्यटन प्रवर्द्धनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।




