काठमाडौं । नेपाल पछिल्ला केही दशकदेखि अस्थिर राजनीति, बेरोजगारी र आर्थिक सङ्कटको चक्रव्यूहमा फसेको छ । यहाँका युवाहरूको ठूलो हिस्सा स्वदेशमा अवसर नपाएर विदेश पलायन भइरहेका छन् । सरकारी उद्योगहरू नगन्य मात्रामा मात्र नाफामा सञ्चालन भइरहेका छन्, तीमध्ये एक हो- जडीबुटी उत्पादन तथा प्रसोधन केन्द्र ।

यही केन्द्र, जसले धेरै नेपालीलाई रोजगारी दिएको थियो, हिजो केही आन्दोलनकारीहरूको आक्रमणको शिकार बन्यो । आगो लगाएर उनीहरूले आफ्नो असन्तोष देखाए, आफूहरूलाई विजयी ठाने । तर, के साँच्चै उनीहरू विजयी भए ?

एक उद्योग ध्वस्त हुँदा त्यसमा काम गर्ने श्रमिकहरूको रोजगारी गुम्छ । परिवार चलाउन, बालबच्चाको पढाइ खर्च धान्न र दैनिक गुजारा चलाउन संघर्ष गरिरहेका श्रमिकहरूले अब के गर्ने ? उनीहरूका लागि विकल्प के छ ?

नेपालमा पहिल्यै रोजगारीको अभाव छ, उद्योगहरू संकटमा छन् । यस्तो अवस्थामा बाँकी रहेका उद्योगहरूलाई समेत नष्ट गरेर हामी कुन दिशातर्फ जाँदैछौँ ? के विध्वंसबाट समृद्धि सम्भव छ ?

परिवर्तनको नाममा अराजकता
नेपालमा राजनीतिक परिवर्तन पटक-पटक भयो, तर जनताका समस्या भने जस्ताका तस्तै छन् । हिजो पञ्चायत हटाइयो, बहुदलीय व्यवस्था ल्याइयो, राजतन्त्र फालियो, गणतन्त्र स्थापित गरियो । तर, जनताको जीवनस्तर किन उक्सन सकेन ?
यस्तो लाग्छ कि यहाँ हरेक परिवर्तनको नाममा केही व्यक्तिहरूले मात्रै फाइदा लिएका छन्, जनताले भने झन् बढी दु:ख पाएका छन् । आज फेरि केही समूहहरू राजतन्त्र फर्काउने भन्दै सडकमा छन्, केही गणतन्त्र जोगाउन भन्दै ।

तर प्रश्न उठ्छ- ‘राजतन्त्र फर्किएर समस्याहरू समाधान हुन्छन् ? गणतन्त्रको नाममा नै सबै ठीकठाक छ त ? वास्तवमा लडाइँ केका लागि भइरहेको छ ?’
हामी स्पष्ट देख्न सक्छौँ- ‘खान पाइन्छ कि ?’ भनेर दौडिने नक्कली राजतन्त्रवादीहरू र ‘खाइपाइ आएको खोसिन्छ कि ?’ भनेर डराउने नक्कली गणतन्त्रवादीहरू । तर सत्य के हो भने, दुवै पक्ष अवसरवादी मात्रै हुन् ! किनकि दु:ख त जनताले नै पाइरहेका छन् ।

प्रहरी पनि निराश
नेपालमा राज्य सञ्चालन गर्ने निकायहरू समेत समस्यामा छन् । जनता निराश छन्, सुरक्षा संयन्त्रभित्र कार्यरत कर्मचारीहरू पनि सन्तुष्ट छैनन् । हालै एक जना प्रहरी जवानले भने- ‘हामीलाई न त सरकारले हेर्छ, न त जनताले बुझ्छन् । अब त जागिर छाडेर विदेशिनु बाहेक विकल्प केही छैन ।’
यो भनाइले हाम्रो समग्र अवस्थालाई प्रस्ट पार्छ । जसले देशलाई सुरक्षित राख्नुपर्ने हो, उनीहरू नै निराश छन् । अनि समस्याको समाधान कसरी खोज्ने ?

सरकारले आफ्नै कर्मचारीहरूको सम्मान गर्न सकेन भने त्यो सरकार जनताको हित कसरी गर्छ ? देशको सुरक्षामा खटिएका व्यक्तिहरू नै अवसर खोज्दै विदेश जान बाध्य छन् भने आम नागरिकको अवस्था के होला ?
यही नै वास्तविकता हो- देशको राजनीतिक अस्थिरताले केवल नेताहरूलाई लाभ पुर्याउँछ, आम जनताले भने निराशा मात्रै भोग्नुपर्छ ।

तोडफोड होइन, निर्माण गरौँ
अब सोच्ने बेला आएको छ- हामीले हाम्रो देशको भविष्य कसरी सुरक्षित गर्न सक्छौँ ? विध्वंसबाट समाधान सम्भव छैन । सत्ता परिवर्तन मात्रै उद्देश्य भए, विकास कहिल्यै हुँदैन । हामीले अब विकासमुखी सोच राख्नुपर्छ ।

देशको वास्तविक समस्या बेरोजगारी हो । विदेश पलायन रोक्न हामीले स्वदेशमै अवसर सिर्जना गर्नुपर्छ । तर, यहाँ त भएको उद्योग समेत जलाइन्छ । यसको परिणाम के हुन्छ ? रोजगारीको अवसर झन् घट्छ, मुलुकको आर्थिक अवस्था झन् खस्कन्छ ।

अब आवश्यकता छ- सकारात्मक परिवर्तनको, सिर्जनात्मक आन्दोलनको, उत्पादनमुखी अर्थतन्त्रको । हामीले बुझ्नुपर्छ, देश जलाएर, तोडफोड गरेर, उद्योग ध्वस्त गरेर भविष्य उज्ज्वल बन्दैन ।

अन्तत: परिवर्तन जरुरी छ, तर त्यो विध्वंसको बाटोबाट सम्भव छैन । हामीले ध्वंस होइन, निर्माण गर्नुपर्छ । अस्थिरता होइन, स्थायित्व चाहिन्छ । अब समय आएको छ-राजनीतिका नाउँमा गरिने नाटकहरूको भण्डाफोर गर्ने, सही नेतृत्व खोज्ने र विकासमुखी सोच राख्ने । निर्णय हाम्रो हातमा छ !









