काठमाडौं । शुक्रबारको राजावादी आन्दोलनले हिंसात्मक रूप लिँदा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड ठूलो क्षतिको सामना गर्न बाध्य भयो । आन्दोलनकै क्रममा प्रदर्शनकारीहरूले कम्पनी परिसरमा तोडफोड, आगजनी र अराजकता मच्चाउँदा करोडौंको क्षति भएको छ ।

दिउँसो करिब ३ बजे तीनकुने क्षेत्रमा प्रदर्शन भइरहेका बेला केही प्रदर्शनकारी समूह कम्पनीको मूल गेटमा पुग्यो । गेट तोड्दै भित्र छिरेका उनीहरूले कार्यालय भवनका सिसा फुटाए, गाडीमा आगो लगाए र तोडफोड मच्चाए ।

झ्याल, ढोका, फर्निचरसमेत तोडफोड भएपछि कर्मचारीहरू ज्यान जोगाउन भाग्न बाध्य भए । उनीहरूले कार्यालयका सिसा तोड्दै एक एक गरेर गाडीहरूमा आगो लगाए । स्थिति नियन्त्रणभन्दा बाहिर जान लागेपछि कर्मचारीहरू पछाडिको झ्यालबाट भाग्न थाले । केही घन्टापछि मात्रै प्रहरी र दमकल आइपुगेपछि आगो निभाइएको थियो ।

कम्पनीको भविष्य संकटमा
सरकारी स्वामित्वमा रहेको यो कम्पनी २०३८ सालदेखि सञ्चालनमा छ । सञ्चो तेल, सञ्चो बाम, हिमालय मसाज तेल लगायत जडीबुटीजन्य उत्पादनहरू बनाउने यो कम्पनीको बजार प्रभाव निकै राम्रो छ ।
विदेशी बजारमा समेत लोकप्रिय सञ्चो तेल १५ वर्षदेखि स्विडेन निर्यात भइरहेको छ । कम्पनीमा ४०० भन्दा बढी कर्मचारी कार्यरत छन्, जसमा ७० प्रतिशत महिला छन् । हिंसात्मक घटनाका कारण उनीहरूको रोजगारी अन्योलमा परेको छ ।

सरकारको प्रतिक्रिया के ?
कम्पनीका कर्मचारीहरू आक्रोशित छन् । राजनीतिक आन्दोलनका नाममा हिंसात्मक आक्रमण किन ? भन्ने प्रश्न उठिरहेका छन् । सरकारले घटनाको छानबिन गर्ने आश्वासन दिएको छ, तर कम्पनीको भौतिक संरचना र आर्थिक नोक्सानी कसरी पूर्ति गरिन्छ भन्ने अन्योलमै छ ।

के नेपालमा यस्ता सरकारी उत्पादन संस्थाहरू सुरक्षित छन् ? यस घटनाले दीर्घकालीन असर पार्नेछ ? यो घटनाले औद्योगिक वातावरण र रोजगारी सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ ।





