काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ५ बाहुनधारामा एक युवकको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिल राज बोहराका अनुसार, सर्लाही चक्रघट्टा गाउँपालिका ८ स्थायी निवासी तथा हाल गोकर्णेश्वर नगरपालिका ५ बाहुनधारामा बस्दै आएका १९ वर्षीय राहुल साहको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा ६ जनालाई नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेकाहरूमा सर्लाही चक्रघट्टा गाउँपालिका १ का २२ वर्षीय निपु मण्डल, १८ वर्षीय विजय यादव, १८ वर्षीय करन कुमार महतो, २३ वर्षीय जोधन मण्डल, ४५ वर्षीय उत्तम मण्डल तथा भारत बिहार निवासी एवम् हाल काठमाडौंको दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा रहेका छन् ।
प्रहरीका अनुसार, गोकर्णेश्वर नगरपालिका ८ माकलबारीस्थित आरके मोटरसाइकल वर्कसपको पछाडि जमिनमा गाडिएको अवस्थामा राहुल साहको शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धानका आधारमा, हत्या लेनदेन विवादबाट प्रेरित हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।




