काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरण अन्तर्गत कार्यरत एक अमिनविरुद्ध ३ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले जिल्ला आयुक्तको कार्यालय काठमाडौं अन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजना, गौरीघाटमा अमिन (करार) पदमा कार्यरत दिनेश प्रसाद यादवविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
दिनेश यादवले वैध आय स्रोत नदेखिने गरी ३ करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ २१ पैसाको सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले उनलाई सार्वजनिक पद दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा अदालतमा पेश गरेको हो ।
मुद्दामा दिनेश यादवकी श्रीमती अमृता कुमारी यादवलाई समेत प्रतिवादी बनाइएको छ । अनुसन्धानका क्रममा यादवले आफ्नो श्रीमतीको नाममा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति राखेको पुष्टि भएपछि उनलाई पनि मुद्दामा संलग्न गरिएको आयोगले जनाएको छ ।
आयोगले २०६३ साल भदौ ८ गतेदेखि २०८१ साल असार ३० गतेसम्मको अवधिमा दिनेश यादवको सम्पत्ति, आय व्यय विवरणको अध्ययन गरेको थियो ।
उक्त अवधिमा यादवले तलबी पारिश्रमिक, भत्ता, नागरिक लगानी कोष, आवास कर्जा, कृषि आम्दानी, सवारी तथा अचल सम्पत्ति बिक्री, सापटी र बैंकको ब्याज लगायतबाट जम्मा २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ ३० पैसाको वैध आय देखिएको छ ।
तर सोही अवधिमा उनले आर्जन गरेको सम्पत्ति, जीवनशैली र लगानीको विवरण अध्ययन गर्दा ३ करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ २१ पैसाको स्रोत नखुलेको सम्पत्ति फेला परेको आयोगको ठहर छ ।
अख्तियारले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको माग गर्दै विशेष अदालतमा आरोपपत्र पेश गरेको जनाएको छ ।




