सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीबार सर्लाही जिल्ला अदालतमा दायर गरिएको उक्त मुद्दामा थापासहित नगरपालिकाका अन्य पदाधिकारीहरू समेत संलग्न रहेका छन् ।
यसअघि २०८० चैत २८ गते र २०८१ जेठ २९ गते दुई वटा फरक अभियोगपत्रमार्फत ३५ करोड ३० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिसकिएको थियो ।
बिहीबारको तेस्रो मुद्दामा उपप्रमुख लिलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीसमेत प्रतिवादी रहेका छन् ।
अख्तियारका अनुसार उनीहरूमाथि वन अतिक्रमण, ताल निर्माणको नाममा अनियमितता, तथा ढुङ्गा–गिट्टी–बालुवा–माटो उत्खनन गरेर सरकारी स्रोतसाधनमा हानी नोक्सानी गरेको आरोप छ ।
४ लाख ७० हजार २८५ घनमिटर वन पैदावार गैरकानुनी रूपमा उत्खनन गरी बिक्री वितरण तथा संरचनात्मक निर्माणमा प्रयोग गरेको दाबी गर्दै अख्तियारले उनीहरूमाथि पाँच वर्षसम्मको कैद सजाय मागदाबी गरेको छ ।
यसअघि दायर दुई मुद्दामा विशेष अदालतले वैशाख ७ गते थप प्रमाण पेश गर्न आदेश दिएको थियो । तेस्रो मुद्दाले सर्लाहीको बागमती नगरपालिकामा व्यापक रूपमा भ्रष्टाचार भएको आशंका थप गहिरिएको छ ।




