काठमाडौं । प्राकृतिक र सांस्कृतिक दृष्टिले धनी हाम्रो देश नेपाल सनातन हिन्दू धर्मको बाहुल्यता भएको पवित्र भूमि हो । यसै देशको मध्य भागमा अवस्थित गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैंडाकोट नगरपालिका ४ ‘क’ मा अवस्थित श्री चण्डिका देवी मन्दिर ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण तीर्थस्थल हो ।
पूर्वमा नारायणी नदी, पश्चिममा जयश्री खोला तथा जङ्गलश्रृङ्खला, उत्तरमा महाभारत पहाडशृङ्खला र दक्षिणमा पूर्व-पश्चिम राजमार्गले घेरिएको यो मन्दिर पवित्र देवघाट क्षेत्र विकास समितिको क्षेत्राधिकारभित्र पर्दछ । ऋषिमुनिहरूको तपोभूमि तथा देवभूमिका रूपमा चिनिने यो क्षेत्रमा दिनानुदिन धार्मिक, सांस्कृतिक तथा सामाजिक चेतनाले भरिएका भक्तजनहरूको उल्लेखनीय सहभागिता देखिन्छ ।
वि.सं. २०५८ मा ‘नमुना जागृति महिला समूह’का अगुवाहरू- समाजसेवी टोलनाथ घिमिरे, स्वर्गीय मित्रलाल सापकोटा र स्वर्गीय भूवनकला गौडेलको नेतृत्वमा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितासहित मन्दिर निर्माणको शिलान्यास गरिएको थियो । निर्माणस्थलको भू-संरचना खाल्डो भएकाले उक्त खाल्डो पुरी समतल बनाउने कार्यमा विशेष योगदान स्वर्गीय मित्रलाल सापकोटाले गर्नुभएको थियो ।
वि.सं. २०७३ मा श्री चण्डिका देवी मन्दिरको विधान निर्माण गरी संस्था दर्ता गरियो र त्यसै वर्ष श्रावण १० गते मन्दिर परासी जिल्ला विकास समितिमा दर्ता भयो । उक्त विधान मस्यौदा तयार पार्ने समितिको संयोजक तथा संस्थाका सहसचिवको हैसियतमा मैले (भूमिका गैरे तिमिल्सिना) नेतृत्व गरेको थिए ।
त्यस समय ‘नमुना जागृति महिला समूह’को नेतृत्व स्वर्गीय मेनुका देवी ढकालले गर्नुभएको थियो । मन्दिर निर्माणका क्रममा महिला दिदीबहिनीहरूले देउसी–भैलो, रत्यौली, मासिक बचत, आर्थिक संकलनजस्ता विविध माध्यमबाट योगदान पुर्याउँदै रातदिन खटिनुभएको थियो । खोलाबाट गिटी–बालुवा बोक्ने, श्रमदान गर्ने, राय–सल्लाह दिने सबै काममा महिला दिदीबहिनीहरूको अग्रणी भूमिका रह्यो । पुरुषहरूको पनि उल्लेखनीय सहयोग रह्यो ।
मन्दिरको नियमित पूजाआजा सञ्चालन गर्न पुजारीको आवश्यकता परेपछि, गैंडाकोट–४ का स्थायी बासिन्दा स्व. पण्डित रेवनाथ पौडेललाई पुजारीका रूपमा नियुक्त गरियो । उहाँको सेवा वापत वार्षिक रूपमा महिला समूहले ५ पाथी धान संकलन गरी सहयोग गर्यो । पछि वि.सं. २०७३ देखि रु १८,००० (अठार हजार) वार्षिक पारिश्रमिक दिने निर्णय गरियो । मन्दिरमा अक्षयकोष स्थापनार्थ रु १,००,००० (एक लाख) स्व. मदनप्रसाद सापकोटाबाट प्राप्त भयो ।
१६ वर्षसम्म महिलाहरूको नेतृत्वमा सञ्चालित मन्दिरमा वि.सं. २०७४ को तेस्रो साधारण सभाबाट पुरुष सदस्यहरूलाई कार्यसमितिमा समायोजन गरियो । २०७८ सालको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनपछि संस्थापक सदस्यहरूले संस्था छाड्नुभयो । हाल मन्दिरको आजीवन सदस्य संख्या २०० रहेको छ ।
श्री चण्डिका देवी मन्दिर मौलाकालिका मन्दिरको फेदीमा अवस्थित छ । मन्दिरको दक्षिण–पश्चिमतिर भगवान गणेशको मन्दिर र अगाडि शिव पञ्चायन मन्दिर रहेको छ । यहाँ श्रीकृष्ण जन्माष्टमी, राम नवमी, चण्डी पूर्णिमा, रुद्री, यज्ञ–हवन, व्रतवन्ध, विवाह, ग्रहशान्तिजस्ता धार्मिक अनुष्ठान नियमित रूपमा आयोजना गरिन्छ । विशेषत: वडादशैंको समयमा नवदुर्गाको पूजा, साउने सोमबार शिवपूजा, एकादशीमा भजनकृतन लगायतका कार्य हुँदै आएका छन् ।
शुद्ध मनले चण्डिका माताको दर्शन गर्दा विग्रिएको काम बन्ने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ । चण्डिका देवीको महिमा वेद, पुराणहरूमा समेत उल्लेख छ । यहाँ बौद्ध धर्मावलम्बी गुरुङ समुदायले पनि उत्तर दिशातर्फ चण्डी देउराली थानमा पूजा गर्दै आएका छन् ।
तर दु:खको कुरा, यस पवित्र मन्दिरको भौगोलिक अवस्थिति दलित बस्तीमा पर्न गएकाले विकास र संरक्षणको गति अपेक्षाकृत धीमा छ । सरकारी तथा स्थानीय निकायहरूबाट अपेक्षित ध्यान नपुगेको महसुस भइरहेको छ । चुनावको बेलामा मात्र नेताहरूको भीड लाग्ने, गहकिला भाषण हुने तर चुनावपछि बेवास्ता हुने स्थिति कायम रहँदै आएको छ । अब मन्दिर विकास चुनावी अस्त्र नबनोस् ।
हाल मन्दिरको दक्षिणतर्फ सत्तल निर्माण गर्ने लक्ष्य लिइएको छ । साथै, मन्दिरको जिर्णोद्धार, संरक्षण, र संवर्द्धन अत्यावश्यक छ । गैंडाकोटको धार्मिक पहिचान स्थापित गर्न श्री चण्डिका देवी मन्दिर एउटा महत्वपूर्ण आधार बन्न सक्छ । यस मन्दिरको संरक्षणमा सबै नागरिक, धर्मप्रेमी, र सरकारी निकायको सहभागिता अपरिहार्य छ ।
धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको साक्षी यो मन्दिरले भावी पुस्तालाई आफ्ना धर्म, पहिचान, कला, संस्कृति, संस्कार र परम्पराको शिक्षा दिइरहुन् । हामी सबैले मिलेर यस पवित्रस्थलको संरक्षण र सम्बर्द्धनमा भूमिका खेल्न जरुरी छ । माता चण्डिकाको कृपाले हामी सबैको जीवनमा सुख, शान्ति र समृद्धिको प्रकाश फैलियोस् ।




