काठमाडौं । वैदेशिक रोजगारीका लागि अमेरिका र क्रोएसिया पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्तिहरूमा ललितपुर महालक्ष्मी नगरपालिका ९ बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका ४ घर भएकी शारदा थापा र काठमाडौं तारकेश्वर नगरपालिका ९ बस्ने, सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका ७ घर भएका ४१ वर्षीय पासाङ नुरू शेर्पा रहेका छन् ।
शारदाले अमेरिका पठाइदिन्छु भन्दै एक जना पीडितबाट ८५ लाख रुपैयाँ लिएकी थिइन् भने पासाङले क्रोएसिया पठाइदिने भन्दै अर्का एक जना पीडितबाट १ लाख ८० हजार रुपैयाँ लिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । रकम लिएकोपछि दुवै जना पीडितहरूसँग सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ ।
उक्त उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले शारदा थापालाई बुधबार ललितपुर महालक्ष्मी नगरपालिका ९ बाट र पासाङ शेर्पालाई मंगलबार काठमाडौं तारकेश्वर नगरपालिका ९ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।




