काठमाडौं । वैदेशिक रोजगारका नाममा ठगी गर्ने अभियोगमा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषाका युवासहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमी नगरपालिका १ लोकन्थली बस्ने, धनुषा जनकनन्दिनी गाउँपालिका ३ घर भएका ३० वर्षीय राहुल पुन्ज, ललितपुर गोदावरी नगरपालिका ३ बस्ने, गुल्मी धुर्कोट गाउँपालिका १ नयाँ गाउँ घर भएका ३९ वर्षीय प्रकाश घर्ती मगर र वीरगंज महानगरपालिका २४ बस्ने ६८ वर्षीय सिताराम प्रसाद कुर्मी रहेका छन् ।
वैदेशिक रोजगार ठगी सम्बन्धी कसूरमा संलग्न रही फरार रहेका राहुल पुन्ज र प्रकाश घर्तीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले मंगलबार काठमाडौंको तीनकुने र कलंकी क्षेत्रबाट पक्राउ गरेको हो ।
त्यसैगरी, सिताराम प्रसाद कुर्मीलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बुधबार वीरगंजस्थित उनको घरबाट पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।




