काठमाडौं । देशभर पश्चिमी वायु, स्थानीय वायु र जलवाष्पयुक्त हावाको संयुक्त प्रभावका कारण आगामी तीन दिनसम्म वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरैजसो भूभागमा हाल हल्कादेखि भारी वर्षासम्म भइरहेको छ भने केही ठाउँमा हुरी र चट्याङ समेत परिरहेको छ ।
महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ र सप्ताहको बाँकी दिनहरूमा पनि बेलुका रातको समयमा चट्याङसहितको वर्षा हुने सम्भावना रहेको छ ।
“पश्चिमी वायु र स्थानीय वायुसँगै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको असरले जुनसुकै समयमा वर्षा भइरहेकै छ,” अधिकारीले जानकारी दिए ।
उनले हालको प्रि-मनसुन अवधिमा विशेष गरी साँझ पख वर्षा र चट्याङ हुने सम्भावना उच्च हुने बताए । आज राति समेत देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।
महाशाखाले वर्षा, मेघगर्जन, चट्याङ र हुरीका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता र तयारी गर्न आग्रह गरेको छ ।
यसैबीच, स्थानीय तह र सम्बन्धित निकायहरूलाई पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन विभागले सुझाव दिएको छ ।




