काठमाडौं । प्रेस काउन्सिल नेपालले देशका विभिन्न जिल्लामा पत्रकारको आवरणमा गैरपेसागत क्रियाकलापहरू भएको गुनासा आएपछि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सिरहा, कैलाली, पर्सा, धनुषा, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, बाँके, सुनसरी लगायतका जिल्लाहरूमा यस्ता गतिविधिहरू भएको उल्लेख गरेको छ ।
काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मिडियाको आवरणमा आफूलाई पत्रकार बताउँदै गैरपेसागत गतिविधि गर्ने, सरकारी/गैरसरकारी तथा स्थानीय तहका कार्यालयहरूमा गएर विज्ञापनको नाममा बार्गेनिङ गर्ने, धम्की दिने, अनधिकृत रूपमा प्रेस कार्ड बनाई त्यसको दुरुपयोग गर्ने, सीमावर्ती क्षेत्रमा गई धाकधम्की तथा असुली गर्ने, पत्रकार सम्मेलन गराइदिने भन्दै पीडितसँग पैसा असुली गर्ने, युट्युब च्यानलमार्फत राष्ट्रियता तथा सामाजिक सद्भावविपरीत, वैयक्तिक गोपनीयता भंग गर्ने तथा पारिवारिक विखण्डन गराउने खालका सामग्री सम्प्रेषण गर्ने गुनासाहरू आएका छन्।”
काउन्सिलले यस्ता कार्यहरू पेसागत आचारसंहिता तथा कानूनी प्रावधानहरूविपरीत भएको स्पष्ट पार्दै, यस्ता गतिविधिहरू नगर्न र नगराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । यसै सन्दर्भमा, पत्रकारका विषयमा प्रश्न उठेपछि काउन्सिलले नेपाल पत्रकार महासङ्घ सिरहा जिल्ला शाखालाई ७ दिनभित्र सम्बन्धित उजुरी र विवरण उपलब्ध गराउन पत्राचारसमेत गरेको जनाएको छ ।
प्रेस काउन्सिल नेपालले कार्यविधि बनाई युट्युब र फेसबुक च्यानलहरूको समेत अनुगमन गरिरहेको जानकारी दिँदै चालु आर्थिक वर्षमा हिंसा, आतङ्क, द्वेष फैलाउने, अपुष्ट, भ्रमपूर्ण तथा अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने ६ वटा युट्युब च्यानल, ५ वटा फेसबुक पेज र ६ वटा अनलाइनहरूलाई निर्देशनमार्फत सचेत गराएको जनाएको छ ।
त्यसैगरी, निराधार तथा अतिरञ्जित थम्बनेलसहित भ्रम फैलाउने, त्रास सिर्जना गर्ने, अश्लील तथा अमर्यादित सामग्री सम्प्रेषण गर्ने, काउन्सिलको निर्देशनको अवज्ञा गर्ने र मिडियाको रूपमा दर्ता नभएका ६५ वटा युट्युब च्यानल तथा ५ वटा फेसबुक पेजहरूलाई नेपाल प्रहरीको साइबर ब्युरोसँग समन्वय गरी पत्राचार गरिएको विज्ञप्तिमा उल्लेख छ ।
आचारसंहिताअनुसार निर्देशनको अवज्ञा गर्ने ११ वटा अनलाइन सञ्चार माध्यमलाई कालोसूचीमा राखिएको काउन्सिलले जनाएको छ । तीमध्ये ३ वटा सञ्चार माध्यमलाई सूचीकरणबाट हटाइ थप कारबाहीसमेत गरिएको छ । यस्तै, क्षमायाचनासहित आचारसंहिता पालनाको प्रतिबद्धता व्यक्त गर्दै निवेदन दिएका ५ वटा सञ्चार माध्यमलाई भने कालोसूचीबाट हटाइएको काउन्सिलले जनाएको छ ।




