काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जना व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका ४ बस्ने तथा तनहुँको भानु नगरपालिका ८ घर भएका ४३ वर्षीय बिकास गुरूङ, काठमाडौं महानगरपालिका ३२ बस्ने तथा सिन्धुली कमलामाई नगरपालिका १२ घर भएकी ३६ वर्षीया रन्जना अधिकारी, काठमाडौं महानगरपालिका ३१ बस्ने ताप्लेजुङ पाथीभरा याङ्वरक गाउँपालिका १ घर भएका ४० वर्षीय यादव प्रसाद घिमिरे र काठमाडौं महानगरपालिका २ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका ३ घर भएका ५२ वर्षीय लोकजन खड्का रहेका छन् ।
प्रहरीका अनुसार बिकास गुरूङले अजरबैजान पठाइदिन्छु भन्दै दुई जना पीडितबाट ५ लाख रुपैयाँ, रन्जना अधिकारीले जापान पठाइदिन्छु भन्दै एक जना पीडितबाट ३ लाख रुपैयाँ, यादव प्रसाद घिमिरेले जापान पठाइदिन्छु भन्दै एक जना पीडितबाट ५० हजार रुपैयाँ र लोकजन खड्काले थाईल्याण्ड पठाइदिन्छु भन्दै एक जना पीडितबाट ४ लाख ४० हजार रुपैयाँ लिएको आरोप लागेको छ । रकम लिएकोपछि उनीहरू सबै सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा प्रहरीले बिकास र रन्जनालाई मंगलबार क्रमशः काठमाडौं महानगरपालिका १२ र १ बाट तथा यादव प्रसाद र लोकजनलाई बुधबार काठमाडौं महानगरपालिका १२ र ३ बाट पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




