जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले लागूऔषधको बढ्दो प्रभावकै कारण मधेशमा अपराध र सुरक्षाको चुनौती गम्भीर बन्दै गएको बताएका छन् । जनकपुरधाममा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले लागूऔषधलाई ‘अपराधको जड’को रूपमा उल्लेख गरेका हुन् ।
गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले भने, “देशमा सवारी दुर्घटना, आत्महत्या र साइबर क्राइमजस्ता समस्याहरू बढ्नुको मुख्य कारण लागूऔषध नै हो । यसको नियन्त्रण नगरेसम्म अपराध नियन्त्रण सम्भव छैन ।” उनले नेपाल भौगोलिक रूपमा विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै सुरक्षा सम्बन्धी तयारी सुदृढ गर्नुपर्नेमा जोड दिए ।
उनले थपे, “भूकम्प जस्तो विपद् जुनसुकै बेला आउन सक्छ । बाढी, पहिरो, आगलागी, लु, लेक र नदी कटानजस्ता समस्याहरू पनि नियमित जोखिमको रूपमा रहेका छन् । त्यसैले सुरक्षाकर्मीहरू सधैं तयारी अवस्थामा रहनु आवश्यक छ ।”
प्रहरी प्रदेश मातहत नहुनु समस्या : मुख्यमन्त्री सिंह
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रहरी प्रशासन अझै संघीय मातहतमै रहनु प्रदेश सरकारका लागि चुनौतीपूर्ण भएको बताए । उनले भने, “प्रहरीलाई प्रदेश मातहत ल्याउन ढिलो भइरहेको छ । यसले शान्ति सुरक्षाको अवस्थामा प्रदेश सरकारले प्रभावकारी रूपमा हस्तक्षेप गर्न नसकिरहेको अवस्था छ ।” मुख्यमन्त्री सिंहले प्रहरी व्यवस्थापन सम्बन्धी अधिकार प्रदेशलाई नदिइएसम्म संघीयता कार्यान्वयनमा अपूर्णता रहने चेतावनी पनि दिए ।
गोष्ठीमा सुरक्षा निकायका उच्च अधिकारीको उपस्थिति
सुरक्षा गोष्ठीमा नेपाली सेनाका उपरथी निर्मल कुमार थापा, नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, मधेश प्रदेशस्थित नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतनापति कृष्णबहादुर जिसी, साथै मधेश प्रदेशका आठै जिल्लाका प्रमुख सुरक्षा अधिकारीहरू सहभागी थिए ।
संघीय गृह मन्त्रालय र मधेश प्रदेश गृह मन्त्रालयको संयुक्त आयोजनामा भएको यो गोष्ठीले प्रदेशस्तरीय सुरक्षा रणनीति, लागूऔषध नियन्त्रण, विपद् व्यवस्थापन र संघ प्रदेश समन्वयका विषयमा केन्द्रित छलफल भएको आयोजकहरूले जानकारी दिए ।




