मकवानपुर । हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक गए रातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार भीमफेदी गाउँपालिका ८ (मकवानपुर) र बागमती गाउँपालिका २ (ललितपुर) लाई जोड्ने बागमती पुलको छेउमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बगाएपछि सडक आवागमन रोकिएको हो ।
उनका अनुसार सडक अवरुद्ध भएपछि सवारी साधनको आवाजाही ठप्प भएको छ भने सडक खुलाउने प्रयास जारी छ । “बाढीले पुलको साइडबाट ग्राभेल बगाउँदा सडक पूरै अवरुद्ध भएको छ । प्राविधिक टोली परिचालन गरेर सडक खुलाउने काम भइरहेको छ,” डीएसपी अर्यालले बताए ।
यातायात ठप्प भएका कारण हेटौंडा–काठमाडौं यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह छ । सडक सुचारु हुन अझै केही समय लाग्न सक्ने अनुमान गरिएको छ ।




