काठमाडौं । यस वर्षको मनसुन नेपालमा मध्य जेठमै प्रवेश गरेको छ, जुन सामान्यभन्दा १५ दिन चाँडो हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति पूर्वी नेपाल हुँदै मनसुन प्रवेश गरेको हो, र अहिले कोशी प्रदेशका अधिकांश भागमा यसको प्रभाव फैलिसकेको छ ।
सामान्यतया नेपालमा मनसुन जुन १३ तारिख (जेठ ३० गते) भित्रिने मानिन्छ । तर भारतको केरला राज्यमा नै मनसुन सरदर मितिभन्दा एक हप्ता अघिदेखि प्रवेश गरिसकेकाले यसको प्रभाव नेपालमा पनि चाँडो देखिएको हो । कोशी प्रदेशमा मनसुन सुरु भएसँगै हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मौसमविद्हरूका अनुसार नेपालका अन्य भागहरूमा पनि मनसुन विस्तार हुने क्रम जारी छ, यद्यपि पूर्ण रूपमा फैलिन अझै केही दिन लाग्नेछ । हाल देशको अन्य भागमा पश्चिमी वायु र स्थानीय वायूको प्रभाव कायम रहेको जनाइएको छ ।
यस वर्ष मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको छ, जसले गर्दा करिब २० लाख नागरिक प्रभावित हुनसक्ने प्रक्षेपण छ । साथै, तापक्रम पनि उच्च हुने सम्भावना रहेको मौसमविद्हरू बताउँछन् ।
धानसहितका मुख्य बालीहरूका लागि मनसुन अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । तापनि, बढी वर्षा र उच्च तापक्रमका कारण कृषि तथा पूर्वाधारमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित क्षतिको आँकलन गर्दै पूर्वतयारी थालिसकेको जानकारी दिएको छ । महाशाखाले मनसुनसँगै आउने सम्भावित बाढी, पहिरो र अन्य प्राकृतिक विपत्तिबाट बच्न आवश्यक तयारी गर्न आम नागरिकलाई आग्रह गरेको छ ।




