काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूले आज ज्येष्ठ शुक्ल एकादशीको अवसरमा आफ्ना घरका मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष यसै दिन तुलसीको बीउ रोप्ने परम्परा अनुसार आजको दिनलाई निर्जला एकादशी पनि भनिन्छ ।
आज रोपिएको तुलसीको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी, अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । यही दिनदेखि कार्तिक शुक्ल एकादशीसम्म तुलसीको विशेष पूजा गरिन्छ ।
धार्मिक मान्यता अनुसार, यस अवधिलाई चतुर्मास भनिन्छ । चतुर्मासको चार महिनाभर स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वास रहिआएको छ । निर्जला एकादशीको दिन व्रत बस्दा पानीसमेत नपिई उपवास गर्नु धार्मिक दृष्टिले पुण्यदायी मानिन्छ ।
यद्यपि, शारीरिक रूपमा असक्षम व्यक्तिहरूले फलफूल खाएर व्रत गर्न सक्ने प्रचलन पनि छ । आयुर्वेदिक दृष्टिले तुलसीलाई लाभकारी औषधिको रूपमा लिइन्छ ।
विभिन्न रोगको उपचारमा प्रयोग हुने तुलसीमा आधुनिक वैज्ञानिक अनुसन्धान अनुसार पनि प्रशस्त अक्सिजन पाइन्छ । यस अवसरमा देशभरका नारायणस्थान र विष्णु मन्दिरहरूमा श्रद्धालुहरूको भीड लाग्ने गर्दछ ।




