समुन्द्री सतहदेखि १,३०३ मिटरको उचाइमा अवस्थित मनकामना मन्दिर गोरखा जिल्लाको दक्षिणपूर्व भागमा पर्छ । यो मन्दिर नेपालको एक प्रमुख धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल हो । गोरखाको सदरमुकाम पोखरीथोक बजारबाट १२ किलोमिटर दक्षिण, तनहुँको आँबुखैरेनीबाट ५ किलोमिटर पूर्व र चितवनको मुग्लिनबाट २६ किलोमिटर उत्तरमा अवस्थित मनकामना मन्दिर शक्तिपीठका रूपमा परिचित छ ।
मन्दिरको दक्षिणतर्फ महाभारत लेक र छिम्केश्वरी डाँडा देख्न सकिन्छ भने उत्तरतर्फ अन्नपूर्ण र मनासलु हिमालका मनोरम चुचुराहरू अवलोकन गर्न सकिन्छ । मन्दिर परिसरबाट सूर्योदय र सूर्यास्तको दृश्य अत्यन्तै मनमोहक देखिन्छ । किंवदन्ती अनुसार मनकामना मन्दिर सत्रौँ शताब्दीका राजा रामशाहकी रानी लिलावतीको अवतारी रूप हो भन्ने विश्वास गरिन्छ ।
मनको इच्छा पूरा गर्ने शक्तिकी देवी मनकामनाको मन्दिर धार्मिक आस्था र श्रद्धाको प्रतीक हो । यो मन्दिर राष्ट्रिय एकता, सामाजिक सद्भाव र नेपालको एकीकरणसँग समेत जोडिएको छ । विशेषत: दशैँको महाअष्टमी र चैते दशैँमा यहाँ विशेष पूजा गरिन्छ ।
भक्तजनको विश्वास अनुसार मनोकामना पूरा हुने भएकाले यस मन्दिरलाई ‘मनकामना’ भनिएको हो । रानी लिलावती र गुरु गोरखनाथको कृपाले पृथ्वीनारायण शाहले नेपाल एकीकरणको ऐतिहासिक कार्य सम्पन्न गर्न सकेका थिए भन्ने ऐतिहासिक जनश्रुति छ । मन्दिर दुई तले पगोडा शैलीमा निर्माण गरिएको छ, जसको छाना पित्तलको बनेको छ ।
वि.सं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले मन्दिरलाई क्षति पुगेपछि राष्ट्रिय पुरातत्त्व विभागको मापदण्ड अनुसार पुन: निर्माण गरियो । मन्दिरको गजुर, छाना र मूल ढोकामा सुनको जलप लगाइएको छ । तामाको पातामा अठार किलो सुन प्रयोग गरिएको छ । अन्य मन्दिरमा जलप गर्न नाइट्रिक एसिड प्रयोग गरिए पनि यहाँ परम्परागत विधि- चुक, नुन, अमिलो र इट्टाको ढुटो प्रयोग गरिएको छ ।
नयाँ मन्दिर निर्माणमा सिमेन्ट, रडजस्ता आधुनिक सामग्री प्रयोग नगरिएको हो, यसको सट्टा ढुङ्गा, इट्टा, सुखी र काठ मात्र प्रयोग गरिएको छ । रानी लिलावती साक्षात भगवतीको रूप भएको विश्वास गरिन्छ । गुरु गोरखनाथले भक्तको खोजी गर्दा लखन थापा मगर भेटिए, जो इमानदार र शुद्ध चित्त भएका थिए । गोरखनाथले उनलाई दिव्य शक्ति दिएर रानी लिलावतीको सेवामा दरबारमा लगे । लखन थापाले पूजा अर्चना गरेकै ठाउँमा अहिले पनि लाठी, रूखको ठुटो र सिद्ध गुफा रहेको छ, जहाँ आज पनि उनका सन्तानहरूले कुलपूजा गर्ने चलन छ ।
स्थानीय जनविश्वास अनुसार साँझ शङ्ख र घण्टी बजाएपछि बिहान देवीलाई चढाइएको महाप्रसाद खुवाउँदा बोल्न नसकेका बालबालिकाले बोल्न थाल्ने विश्वास गरिन्छ । मन्दिरमा प्रत्येक ६ महिनामा तान्त्रिक विधिबाट विशेष पूजा गरिन्छ ।
वि.सं. २०२६ सालदेखि इन्सान थापा मगर मूल पुजारी रहेका छन् । पुजारी सधैं लखन थापाका दरसन्तानबाट नियुक्त हुने परम्परा छ, जसको निरन्तरता आजसम्म कायम छ । राजा रामशाह (वि.सं. १६१४–१६३६) का रानी लिलावती अवतारी देवी थिइन् र लखन थापा उनीप्रति समर्पित भक्त थिए ।
किंवदन्ती अनुसार, एकदिन राजा रामशाहले सिंहासनमा रानी लिलावती र लखन थापालाई सँगै देखेपछि चकित भए र त्यसपछि उनी बिरामी भई दिवंगत भए । परम्परा अनुसार रानी पनि सती गइन् । लखन थापा शोकमा डुबेका थिए, र रानीले उनलाई आफ्नो पुन: आगमनको संकेत दिएकी थिइन् ।
छ महिनापछि स्थानीय धनध्वज गुरुङले हलो जोत्दा एउटा शिलाबाट दुध र रगत बग्न थाल्यो । लखन थापाले तान्त्रिक विधिबाट पूजा गरी त्यस ठाउँमा रगत–दुध रोकाइ मन्दिर स्थापना गरे । राजा डम्बर शाहले उनलाई मन्दिरको पूजाआजा जिम्मा दिएका थिए र वंशजलाई गुठी विर्ता दिएका थिए । हालका पुजारी लखन थापाको सत्रौँ पुस्ताका सन्तान हुन् ।
मन्दिरमा दर्शनका लागि हरेक वर्ष हजारौँ भक्तजनहरू आउने गर्छन् । देवीलाई बलि चढाउने, परेवा उडाउने चलन छ । मन्दिर अगाडि रहेको भिमकाय चाँपको रूख करिब चार सय वर्ष पुरानो मानिन्छ । यसको वासना लमजुङसम्म पुग्ने विश्वास छ र यसले कहिल्यै मानवीय क्षति नगरेकाले देवीको वास भएको मानिन्छ ।
पृथ्वीनारायण शाहका खस र मगर सेनाले लिम्बूवानीमा विजय पाएपछि लखन थापाले यहीँ बलि चढाएको जनश्रुति छ । वि.सं. २०५५ मङ्सिर ८ गतेदेखि सञ्चालनमा आएको मनकामना केवलकार नेपालको पहिलो केवलकार हो, जसबाट ११ मिनेटमै मन्दिर पुग्न सकिन्छ । पैदल यात्रा चाहनेका लागि आँबुखैरेनीबाट चार घण्टाको उकालो हिँडेर पुग्न सकिन्छ ।
मन्दिर परिसरमा १५ भन्दा बढी देवी–देवताका मन्दिर छन्, जसमा पूर्वपट्टि रहेको बंकेश्वरी मन्दिर पनि एक हो । यहाँ दर्शन गराउँदा वाक्य नफुटेका वा लुला–लङ्गडाहरूमा सुधार आउने विश्वास गरिन्छ ।
नेपाल, भारत लगायतका विभिन्न स्थानबाट दर्शनार्थीहरू यहाँ आउने गर्छन् । विशेष गरी बडादशैंको अष्टमी, चैतेदशैं, नागपञ्चमी, गुठीपञ्चमी र वैशाखपञ्चमीका दिन भक्तजनको घुँइचो लाग्ने गर्छ । नित्य पूजाआजा बिहान ७:०० बजेबाट बेलुका ६:०० बजेसम्म गरिन्छ । साँझको आरती अत्यन्त रमणीय हुन्छ । भित्रि पूजा गरी पुजारीले परिक्रमा गरेपछि मात्र सर्वसाधारणले पूजा गर्न पाउँछन् ।
हजारौँ श्रद्धालुहरू हरेक वर्ष मनकामना देवीको दर्शन गरी मनोकामना पूरा होस् भनी भाकल गर्छन् र त्यसको पूर्तिमा पुन: दर्शन गर्न आउने गर्छन् । धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्त्व बोकेको, आस्था र विश्वासकी धरोहर शक्ति स्वरूपा मनकामना भगवतीले सबैको कल्याण गरून् ।




