काठमाडौं । युके र क्यानडा पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीका नाममा आकर्षक तलब र सुविधाको प्रलोभन देखाई उनीहरूले करोडौं रुपैयाँ असुलेको खुलासा भएको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका २ का ४४ वर्षीय रबिन्द्र बासुकला, काठमाडौं महानगरपालिका ६ सरस्वतीनगर बस्ने मोरङ रतुवामाई नगरपालिका १० का ४४ वर्षीय लक्ष्मण पराजुली र काठमाडौं महानगरपालिका ३२ नरेफाँट बस्ने धनुषा सबैला नगरपालिका १२ का ४७ वर्षीय अरुण राज शर्मा रहेका छन् ।
प्रहरीका अनुसार रबिन्द्र बासुकलाले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट ५ लाख ६० हजार रुपैयाँ लिएका थिए । त्यस्तै, लक्ष्मण पराजुली र अरुण राज शर्माले युके पठाइदिन्छु भनी ३८ जना पीडितहरूबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ असुली सम्पर्कविहीन भएका थिए ।
पीडितहरूका उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले रबिन्द्रलाई सोमबार भक्तपुर नगरपालिका २ ब्यासीबाट तथा लक्ष्मण र अरुणलाई आइतबार काठमाडौं महानगरपालिका ३२ नरेफाँटबाट पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




