काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका ११ बस्ने कपिलवस्तु शिवराज नगरपालिका ५ घर भएकी ३५ वर्षीया दीपा शर्मा र झापा भद्रपुर नगरपालिका ४ घर भएका २७ वर्षीय व्रिजेश सुवेदी रहेका छन् ।
पक्राउ मध्ये दीपाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २३ लाख ५० हजार रूपैयाँ र व्रिजेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दीपालाई बुढानिलकण्ठ नगरपालिका ११ बाट शनिबार र व्रिजेशलाई काठमाडौं महानगरपालिका १२ बाट आइतबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये दीपालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र व्रिजेशलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।




