काठमाडौं । वैदेशिक रोजगारीको सपना देखाउँदै आकर्षक तलबको प्रलोभनमा परेका व्यक्तिहरूलाई बोसनिया र मलेशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १६ बस्ने लमजुङ दोर्दी गाउँपालिका ५ का २६ वर्षीय दिपेन्द्र गुरूङ र काठमाडौं महानगरपालिका १५ बस्ने सर्लाही बरहथवा नगरपालिका १ की ३४ वर्षीया रूपी माया रहेका छन् ।
दिपेन्द्रले बोसनिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूमार्फत ७ लाख रुपैयाँ ठगी गरेका थिए भने रूपी मायाले मलेशिया पठाइदिन्छु भन्दै अन्य ६ जना पीडितहरूबाट ५ लाख ५७ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएकी थिइन् ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले दिपेन्द्रलाई आइतबार काठमाडौं १६ बाट र रूपी मायालाई सोमबार काठमाडौं १५ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई वैदेशिक रोजगार सम्बन्धी ठगी अभियोगमा आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




