काठमाडौं । वैदेशिक रोजगारीका नाममा यूके र लिथुआनिया पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३२ बस्ने धनुषा जनकपुरधाम उपमहानगरपालिका ४ की २६ वर्षीया सुजनी कुमारी साह, काठमाडौं महानगरपालिका ३ बस्ने सुनसरी धरान उपमहानगरपालिका ३ का ३४ वर्षीय दीपक कुमार उदास र भक्तपुर चाँगुनारायण नगरपालिका १ की २३ वर्षीया रेशिका हमाल न्यौपाने रहेका छन् ।
प्रहरीका अनुसार, सुजनी कुमारी साहले यूके पठाइदिने भन्दै एक पीडितबाट १७ लाख ४ हजार रुपैयाँ ठगी गरेकी थिइन् । त्यस्तै, दीपक कुमारले यूके पठाइदिने प्रलोभनमा अर्का एक व्यक्तिबाट २ लाख ३४ हजार रुपैयाँ ठगी गरेका थिए । रेशिका हमाल न्यौपानेले भने लिथुआनिया पठाइदिने भन्दै दुई जना पीडितबाट ६ लाख ८ हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएकी थिइन् ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सुजनी कुमारी र रेशिकालाई काठमाडौं महानगरपालिका ३२ बाट तथा दीपक कुमारलाई काठमाडौं महानगरपालिका १२ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।




