काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीका कारण नारायणगढ–बुटवल सडकखण्ड पुन: पूर्ण रूपमा अवरुद्ध भएको छ । बिहीबार बेलुकी एकतर्फी खोलिएको उक्त सडक रातिदेखि पुन: दुईतर्फी रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जानकारी दिएको छ ।
प्रहरीका अनुसार विनयी खोलामा आएको आकस्मिक बाढीले सडक डाइभर्सन बगाउनुका साथै काठमाडौंबाट नेपालगञ्जतर्फ गइरहेको एक यात्रुबाहक बसलाई पनि बगाएको हो । यद्यपि, बस धेरै टाढा नबगेको र सबै यात्रुहरूको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
दाउन्ने र दुम्कीबास क्षेत्र आसपासको निरन्तर वर्षाले सडक हिलो र चिप्लो बनेको छ, जसका कारण सवारी आवागमन असम्भवजस्तै बनेको हो । सुरक्षाका दृष्टिले प्रहरी प्रशासनले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
पूर्वबाट पश्चिमतर्फ गइरहेका सवारीसाधनहरूका लागि नारायणगढ–मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल मार्ग प्रयोग गर्न र काठमाडौंबाट पश्चिम गइरहेका गाडीहरूलाई पनि यही मार्ग अपनाउन प्रहरीले अनुरोध गरेको छ ।
उक्त सडकखण्डबाट पूर्वतर्फ आउने सवारीसाधनका लागि बुटवल–स्याङ्जा–पोखरा–मुग्लिन मार्ग उपयुक्त हुने जनाइएको छ । साना सवारीका लागि अवस्था हेरी कालीगण्डकी करिडोर अन्तर्गत गैँडाकोट–पिपलडाँडा सडक प्रयोग गर्न सकिने विकल्प पनि खुला राखिएको छ ।
प्रहरी प्रशासनले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन, यात्रा नगर्न सकिने अवस्था भएमा केही समय पर्खन र यात्रा गर्नै परे सुरक्षित वैकल्पिक मार्ग रोज्न आग्रह गरेको छ ।
निरन्तरको वर्षाले प्रभावित सडकखण्डमा तत्काल सुधारको संभावना न्यून देखिएपछि सम्बन्धित निकायबाट पुन: डाइभर्सन निर्माण र मर्मतको तयारी भइरहेको जनाइएको छ । यात्रु सुरक्षालाई ध्यानमा राख्दै प्रहरी र सडक विभागले आवश्यकीय सतर्कता अपनाउँदै आएका छन् ।




