काठमाडौं । क्रोएसिया पठाइदिन्छु भन्दै वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली ध्याङलेख गाउँपालिका ३ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका बस्ने ४२ वर्षीय सुवर्ण कुमार बल रहेका छन् ।
बलले क्रोएसियामा आकर्षक तलबमा रोजगारी दिलाइदिने प्रलोभन देखाएर चार जना पीडितबाट जम्मा ३ लाख ५० हजार रुपैयाँ लिएका थिए । रकम लिएपछि सम्पर्कविहीन भएका बलविरुद्ध पीडितहरूले उजुरी गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका १५ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका बललाई वैदेशिक रोजगार सम्बन्धी ठगीको अभियोगमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्तिहरूबाट सचेत रहन आम सर्वसाधारणलाई आग्रह गर्दै यस्ता गतिविधि बारे तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ ।




