काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलबको लोभ देखाई युके र कतार पठाइदिन्छु भन्दै पीडितहरुले उजुरी दिएपछि उनीहरु पक्राउ परेका हुन् ।
ठगी आरोपमा काठमाडौं तारकेश्वर नगरपालिका ६ बस्ने दोलखा बैतेश्वर गाउँपालिका ३ की ३१ वर्षीया नबिना दाहाल घिमिरे र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ९ बस्ने सर्लाही कौडेना गाउँपालिका ४ का ४३ वर्षीय लछुमन साह तेली पक्राउ परेका हुन् ।
नबिनाले युके पठाइदिने भन्दै २ जना पीडितसँग ५२ लाख रुपैयाँ असुलेर सम्पर्कविहीन बनेको उजुरी परेको थियो भने लछुमनले कतार पठाइदिन्छु भन्दै ३ जना पीडितहरूसँग ६ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले नबिनालाई काठमाडौं महानगरपालिका २२ सुन्धाराबाट मंगलबार र लछुमनलाई काठमाडौं महानगरपालिका ३२ काँडाघारीबाट बुधबार पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।




