काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका ११ बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका १ घर भएका ४० वर्षीय जगदिश महर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ४ बस्ने नवलपरासी पूर्व बुलिङटार गाउँपालिका ४ घर भएका ३७ वर्षीय डिल बहादुर आले मगर र काठमाडौं महानगरपालिका २६ बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका ६ घर भएका ३१ वर्षीय प्रेम कुमार श्रेष्ठ रहेका छन् ।
पक्राउ मध्ये जगदिशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ, डिल बहादुरले सर्बिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ५ लाख १० हजार रूपैयाँ र प्रेम कुमारले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जगदिशथलाई काठमाडौं महानगरपालिका ७ बाट, डिल बहादुरलाई काठमाडौं महानगरपालिका ४ बाट र प्रेम कुमारलाई काठमाडौं टोखा नगरपालिका ७ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।




