काठमाडौं । विदेश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक युवक काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति पर्सा सखुवा प्रसौनी गाउँपालिका ६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका ९ बस्ने २३ वर्षीय सुनिल कुमार सोनार हुन् ।
सोनारले आकर्षक तलबको प्रलोभन देखाई सर्बिया पठाइदिन्छु भन्दै दुई जना व्यक्तिबाट १० लाख रुपैयाँ लिएका थिए । रकम लिएको केही समयपछि उनी सम्पर्कबिहीन भएको पीडितहरूले उजुरी दिएका थिए ।
उक्त उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका १० बाट बिहीबार पक्राउ गरेको हो ।
पक्राउ परेका सोनारलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




