काठमाडौं । गौशालास्थित सार्वजनिक सडकमा वैदेशिक रोजगारीबाट फर्किएका एक व्यक्तिलाई लक्षित गरी लुटपाटमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दक्षिणकाली नगरपालिका ४ का ३२ वर्षीय राम बहादुर तामाङ, सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका ३ का ४० वर्षीय बिपिन लामा, महोत्तरी बर्दिबास नगरपालिका ६ का ३८ वर्षीय बिनोद मगर, रामेछाप सुनापाति गाउँपालिका ३ का ३० वर्षीय राजु तामाङ र मन्थली नगरपालिका १६ का ३० वर्षीय राजकुमार माझी रहेका छन् ।
काठमाडौं महानगरपालिका ९ गौशालाको रुन्चेडाँडास्थित सडकमा ती व्यक्तिलाई डर त्रास र धाकधम्की दिँदै साथमा रहेको नगद ४५ हजार रुपैयाँ लुटिएको खबर पाएपछि प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई लुटिएको नगदसहित नियन्त्रणमा लिएको हो ।
उनीहरू उपर ‘डाँका गर्न नहुने’ कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप लिई घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले राजधानी क्षेत्रका सार्वजनिक स्थानहरूमा लुटपाट जस्ता घटनामा संलग्न व्यक्तिहरूलाई कडाइका साथ निगरानी र कारवाही गर्ने जनाएको छ ।




