काठमाडौं । मनसुन सुरु भएयता देशका अधिकांश भागमा सन्तोषजनक वर्षा भइरहेपनि पूर्वी तराईमा भने सुख्खा अवस्थाको सामना गर्नुपरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १८ गतेदेखि असार १८ गतेसम्म देशभर ३०२ मिलिमिटर वर्षा भएको छ, जुन वार्षिक सरदरको २०.४ प्रतिशत हो ।
यद्यपि, २६ जेठदेखि १ असारसम्मको अवधिमा भने सरदरभन्दा कम वर्षा भएको थियो । हाल देशका धेरै ठाउँमा औसत वर्षा भइरहेको छ, तर पूर्वी तराईमा भने पानी नपरेकाले रोपाइँ सुरु हुन सकेको छैन ।
विशेष गरी मधेस क्षेत्रमा लामो समयदेखि पर्याप्त वर्षा नभएकाले जमिन सुक्खा अवस्थामा छ । यस पालिको मनसुनमा कोशी क्षेत्र लगायत पूर्वी नेपालमा उल्लेखनीय वर्षाको अनुमान गरिएको थियो, तर हालको अवस्था त्यसको ठीक विपरीत देखिएको छ ।
प्राप्त जानकारी अनुसार आगामी शनिबारसम्म पूर्वी नेपालमा उल्लेखनीय वर्षाको सम्भावना देखिएको छैन । यस्तो अवस्थामा किसानहरूले सिँचाइका लागि वैकल्पिक उपायहरू अपनाउनु पर्ने आवश्यकता देखिएको छ ।
मौसमी असन्तुलनका कारण पूर्वी तराईका किसानहरू कृषि कार्यमा पछि परेका छन् भने धान रोपाइँको मुख्य सिजनमा पर्याप्त पानी नपरेकाले उत्पादनमा असर पर्ने चिन्ता बढ्दो छ ।




