धादिङ । जग्गा किर्ते प्रकरणमा संलग्न रहेको आरोपमा नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित धुनीवेशी नगरपालिका ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान काठमाडौंको कलङ्की क्षेत्रबाट सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
उनी सार्वजनिक किर्ते मुद्दामा जिल्ला अदालत धादिङमा मुद्दा दर्ता भएपछि विगत सात महिनादेखि फरार थिए । प्रहरीका अनुसार सुवेदीले एक नाबालकको उमेर नपुग्दासमेत उमेर पुगेको देखाई झुटो जन्म प्रमाणपत्र बनाइदिएका थिए । त्यसकै आधारमा नागरिकता बनाई सो नागरिकता प्रयोग गरी जग्गा खरिदबिक्री गरिएको खुलेको छ ।
वडा अध्यक्षको हैसियतमा उनले कागजात मिलाउन सहयोग गरेको पुष्टि भएपछि उनीविरुद्ध जिल्ला अदालत धादिङमा सार्वजनिक किर्ते मुद्दा दायर गरिएको हो । पक्राउ परेका सुवेदीलाई थप अनुसन्धानका लागि धादिङ लगिएको प्रहरीले जनाएको छ ।
सुवेदी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए भने २०७९ सालको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) पार्टीबाट विजयी भएका थिए । हाल उनी वडा अध्यक्षको रूपमा कार्यरत थिए ।




