काठमाडौं । वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा ४२ वर्षीय सन्तोष सुनुवार पक्राउ परेका छन् । उनी झापा जिल्ला शिवसताक्षी नगरपालिका ८ स्थायी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका ७ मा बसोबास गर्दै आएका थिए ।
सुनुवारले कुवेतमा रोजगार दिलाइदिने भन्दै एक व्यक्तिसँग १ लाख ५३ हजार रुपैयाँ लिएर फरार भएका थिए । पीडितले प्रहरीमा उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनलाई ललितपुरबाट पक्राउ गरेको हो ।
पक्राउपछि उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले विदेश जाने रहरमा ठगीको सिकार नबन्न सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।




