काठमाडौं । देशभर हाल मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई नजिकै अवस्थित छ ।
महाशाखाका अनुसार देशभर सामान्यतया आंशिकदेखि पूर्ण बदली भएको छ । मधेश र लुम्बिनी प्रदेशका केही स्थानहरू, कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा अन्य प्रदेशका एक दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो:
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ ।
राति:
देशभर सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्नेछ । कोशी र बागमती प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना पनि छ ।
त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
महाशाखाले आगामी केही दिनसम्म मधेश प्रदेशसहित देशभर मनसुन सक्रिय रहने देखिएकाले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी जानकारीमा अपडेट रहन आग्रह गरेको छ ।




