काठमाडौं । संगठित रूपमा मानव अंग मृगौला झिकेर मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं, नुवाकोट र काभ्रेपलाञ्चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका १० का ३५ वर्षीय राज कुमार परियार (उर्फ कुमार), नुवाकोटको बेलकोटगढी नगरपालिका ९ का २४ वर्षीय समिर नेपाली र सोही नगरपालिका ४ का ४७ वर्षीय राकेश नेपाली रहेका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले समिरलाई काठमाडौंको नयाँबसपार्कस्थित मित्रनगरबाट, राकेशलाई टोखा नगरपालिका ३ स्थित बानियाँटारबाट बुधबार पक्राउ गरेको हो ।
त्यसैगरी राज कुमारलाई बिहीबार पाँचखालबाट नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार उनीहरूले २०८२ जेठ महिनामा पीडितलाई विभिन्न प्रलोभन देखाई भारतको चण्डीगढस्थित अपार्टमेन्टमा पुर्याएका थिए ।
मृगौला निकालेको बापत ६ लाख रुपैयाँ दिने आश्वासन दिए पनि पैसा नदिई उल्टै पीडितलाई डर त्रास र करकापमा पारेर साउन ९ गते चण्डीगढस्थित नाम नखुलेको क्लिनिकमा बाँया मृगौला झिकिएको खुलेको छ ।
प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका अभियुक्तहरूले झिकिएको मृगौला चर्को मूल्यमा बिक्री गरी गैरकानूनी अंग तस्करीमा संलग्न रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत काठमाडौंबाट संगठित अपराध निवारण ऐन, २०७० बमोजिम ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




