जनकपुर । आर्थिक प्रलोभन देखाइ महिलालाई जबर्जस्ती यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले जनकपुरका एक होटल सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम २३ का ४५ वर्षीय अजिज राइन रहेका छन् ।
प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहका अनुसार पीडित परिवार र मानव अधिकारकर्मीले दिएको उजुरीका आधारमा राइनलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
राइनविरुद्ध मानव बेचविखन र यौनजन्य अपराधसँग सम्बन्धित गम्भीर प्रकृतिका उजुरी दर्ता भएका छन् । ‘प्रमाण संकलनको काम भइरहेको छ,’ प्रहरी नायव उपरीक्षक सिंहले भने ।
राइनविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी परेको छ । आयोगका जनकपुरधाम प्रमुख बुद्धनारायण सहनीले उक्त घटनालाई अत्यन्त संवेदनशील विषयका रूपमा लिइएको बताए । ‘आयोगले प्रारम्भिक तथ्य जाँच सुरु गरेको छ,’ उनले भने ।




