काठमाडौं । यस वर्षको हरितालिका तीज पर्व आजदेखि सुरु भएको छ । महिलाहरूले आज दर खाएर, भोली निराहार उपवास गर्दै ऋषि पञ्चमीसम्म यो पर्व धुमधामका साथ मनाउनेछन् । तीजलाई अखण्ड सौभाग्य, दाम्पत्य सुख र समृद्धिको प्रतीकका रूपमा मानिन्छ ।
यस दिन महिलाहरूले रातभर जागरण गरी भगवान शिव–पार्वतीको आराधना गर्ने परम्परा छ । साउन सकिएपछि रुखमा पलाउने नयाँ हरिया पातलाई यस पर्वसँग जोडेर पनि हेर्ने गरिन्छ । त्यसैले तीजमा शिवलिङ्गमा १६ प्रकारका पातहरू अर्पण गर्ने चलन छ ।
ती पातहरूमा बेलपत्र, शमी, आँप, जाती, भृङ्गराज, सेवंती, अगस्त्य, केरा, बाँस, देवदार, पान, धतुरो, चम्पा, कनेर, नीम र अशोक रहेका छन् । धार्मिक विश्वास अनुसार यी पातहरूले शुभकामना, समृद्धि, दाम्पत्य सुख, वीरता, सौन्दर्य, स्वास्थ्य र मोक्ष प्रदान गर्ने मानिन्छ ।
यस्तै, तीजमा भगवान शिवलाई केरा, स्याउ, नाशपाती, मेवा, अनार लगायत पाँच प्रकारका फलफूल अर्पण गर्ने परम्परा पनि रहेको छ । पूजामा बालुवा वा माटोको शिवलिङ्ग बनाएर प्रदोष अवधिमा विधिपूर्वक पूजा गरिन्छ ।
यस क्रममा पातहरू उल्टो गरेर अर्पण गर्ने र फलफूल भने सुल्टो अर्पण गर्ने प्रचलन छ । महिलाहरूले पूजा सम्पन्न गरेपछि रातभर भजन, कीर्तन र नृत्य गर्दै तीजलाई उल्लासपूर्वक मनाउने गरेका छन् ।




