काठमाडौं । वैदेशिक रोजगारीको लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा पुतलीबजार नगरपालिका १ बस्ने २८ वर्षीय सुसन ताम्राकार र काठमाडौं महानगरपालिका १५ बस्ने ५० वर्षीय योगेन्द्र घले रहेका छन् ।
पक्राउ मध्ये सुसनले इजरायल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ र योगेन्द्रले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुसनलाई काठमाडौं महानगरपालिका ९ बाट आइतबार र योगेन्द्रलाई काठमाडौं महानगरपालिका १० बाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




