काठमाडौं । उच्च अदालत पाटनले मधेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) लाई पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशलाई सदर गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको इजलासले जिल्ला अदालतको आदेश यथावत् राखेको हो ।
यसअघि साउन १४ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले अहिराजलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो । जिल्ला अदालतले थुनामा पठाएपछि अहिराज वेरीत निवेदनसहित उच्च अदालत पुगेका थिए । उनलाई एक महिलाले बलात्कारको आरोपमा मुद्दा दायर गरेकी थिइन् ।
साउन ४ गते पक्राउ परेका अहिराजविरुद्ध प्रहरीले नौ दिनमै अनुसन्धान प्रतिवेदन तयार गरी सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । पीडित महिलाले २०८१ जेठ ४ गते काठमाडौंको नयाँबानेश्वरस्थित डेरामा अहिराजले बलात्कार गरेको आरोप लगाएकी छिन् ।




