धनकुटा । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका धनकुटा महालक्ष्मी नगरपालिका १ कटहरेका ४३ वर्षीय डम्बर मगरको निधनको खबर सुनेलगत्तै उनकी श्रीमती विद्याको पनि निधन भएको छ ।
डम्बर मगरको करिब १० दिनअघि कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको थियो । श्रीमानको निधनको खबर सुनेपछि अचेत भएकी विद्याको तीन दिनपछि उपचारकै क्रममा ज्यान गएको परिवारजनले बताएका छन् ।
श्रीमान–श्रीमती दुवै जनाको मृत्यु भएपछि उनीहरुको तीन छोरी विचल्लीमा परेका छन् । जेठी १७ वर्षीया र माइली १६ वर्षीया हाल क्रमशः कक्षा १२ र ११ मा अध्ययनरत छन् भने कान्छी छोरी मात्र दुई वर्षकी छिन् ।
घरको कमाउने सदस्य गुमेपछि परिवार आर्थिक संकटमा परेको छ । स्थानीयस्तरमा बालबालिकाको पालनपोषण र पढाइका लागि सहयोग संकलन थालिएको छ ।
डम्बर मगरको शव भने अझै कुवेतमै रहेको छ । यही घटनामा कुवेतमा अवैध तथा विषाक्त मदिरा सेवनका कारण अन्य नेपालीसहित १२ जनाको मृत्यु भएको थियो ।
मृतकमध्ये ४ जना नेपाली भाषी रहेको र सो घटनामा विभिन्न देशका २३ आप्रवासी कामदारले ज्यान गुमाएको जानकारी नेपाली दूतावास, कुवेतलाई उद्धृत गर्दै नेपाल पत्रकार महासंघ कुवेत शाखाले जनाएको थियो ।




