काठमाडौं । नेपाल प्रहरीले हालै भएको ‘जेनजी आन्दोलन’सँग सम्बन्धित तस्बिर, भिडियो तथा सामाजिक सञ्जालका लिङ्क उपलब्ध गराउन आग्रह गरेको छ ।
शुक्रबार जारी सूचनामा प्रहरीले भदौ २३ र २४ गते काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भएका विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका अप्रिय घटना, आगजनी, लुटपाट र सर्वसाधारणमा त्रास सिर्जना हुने अन्य घटनासम्बन्धी दृश्य सामग्री उपलब्ध गराउन अनुरोध गरेको हो ।
प्रहरीका अनुसार घटना सम्बन्धी फोटो, भिडियो वा सामाजिक सञ्जालका लिङ्क उपलब्ध गराउने व्यक्तिको गोपनीयता कायम राखिनेछ । अनुसन्धानमा सहयोग पुग्ने उद्देश्यले यस्ता सामाग्री उपलब्ध गराउन आग्रह गरिएको प्रहरीले जनाएको छ ।





