काठमाडौं । अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाललाई जिम्मेवारीबाट हटाइएको छ । उनीहरु विरुद्द सेवाग्राहीसँग घूस माग्ने, मोलमोलाहि गर्ने, अनावश्यक दु:ख दिने लगायत उजुरी परेको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार मेकानिकल इन्जिनियर तथा कार्यालय प्रमुख रोशन कुमार देव र लेखापाल चन्द्र बहादुर बस्नेतलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानेको हो ।
कार्यालय प्रमुख र लेखापालको मिलेमतोमा राजस्व समेत हिनामिना भएको आशंका गरिएको मन्त्रालयले जनाएको छ । सवारी परीक्षण कार्यालयबाट दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने (अन्तर प्रादेशिक) सार्वजनिक सवारी साधनको बाटो इजाजतपत्र जारी गर्ने, सवारी साधनको स्तर कायम गर्ने, जाँचपास गर्ने र प्रदूषण परीक्षणजस्ता काम हुँदै आएका छन् ।
अनियमितताको प्रमाणसहितको गुनासो सेवाग्राहीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ समक्ष पुगेपछि उनले तत्कालै दुवै जनालाई जिम्मेवारीबाट हटाउन र छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए ।
यस्तै मन्त्रालयले प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिइएको छ ।
छानबिन समितिलाई आरोपित कर्मचारीसँग बयान लिने, सेवाग्राहीसँग बुझ्ने, निर्णय सम्बन्धी कागजात अध्ययन गर्ने तथा आवश्यक कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।




