काठमाडौं । देशका विभिन्न भूभागमा लगातार वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार गएको १२ घण्टादेखि विशेषगरी गण्डकी प्रदेशमा वर्षा र हिमपातको प्रभाव बढी देखिएको छ ।
मंगलबार बिहान १० बजे जारी गरिएको अद्यावधिक बुलेटिनमा गण्डकी प्रदेशका धेरै स्थान, लुम्बिनी र कर्णाली प्रदेशका केही भागमा हल्कादेखि मध्यम वर्षा भएको र हिमाली क्षेत्रमा हिमपात भइरहेको उल्लेख छ ।
विभागका अनुसार कोसी, बागमती र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा तराई भूभागमा पनि हल्का वर्षा र हिमपातको प्रभाव देखिएको छ । मनाङ र मुस्ताङ आसपासका उच्च हिमाली क्षेत्रमा भने मध्यमदेखि भारी हिमपात भइरहेको विभागले जनाएको छ ।
मौसम पूर्वानुमान शाखाले अझै केही घण्टासम्म देशका मध्य र पश्चिम भागमा वर्षा र हिमपात जारी रहने अनुमान गरेको छ । विभागले चेतावनी जारी गर्दै भनेको छ, “वर्षा र हिमपात भइरहेको क्षेत्रहरूमा थप सक्रियता देखिन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।”
विभागले यात्रु, किसान र हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन सुझाव दिएको छ । पहिरो, चिसो र यातायात अवरुद्ध हुने सम्भावनालाई ध्यानमा राख्दै जनसाधारणलाई अनावश्यक जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरिएको छ ।




