काठमाडौं । ३१ वर्षको जागिरे जीवनमा आर्जन गरेको तीन करोड १५ लाख रुपैयाँको वैध स्रोत खुलाउन नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, दाङका तत्कालीन इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, विशेष अदालतले रानाभाटलाई सफाइ दिएको थियो ।
अख्तियारले रानाभाटले अवैध रूपमा आर्जन गरेको सम्पत्ति तथा त्यसबाट बढाइएको सम्पत्ति श्रीमतीको नाममा राखेको आरोप लगाउँदै दुवैलाई प्रतिवादी बनाएको थियो । तर विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले दुवै प्रतिवादीलाई सफाइ दिएको हो ।
रानाभाट २०४६ असारमा सरकारी सेवामा प्रवेश गरेका थिए । अख्तियारका अनुसार २०७९ कात्तिकसम्म उनले तीन करोड १५ लाख रुपैयाँभन्दा बढी गैरकानुनी आर्जन गरेको दाबी गर्दै मुद्दा दायर गरिएको थियो । विशेष अदालतले २०८१ जेठ २९ गते उक्त मुद्दामा सफाइ दिएको थियो ।
विशेष अदालतको निर्णय चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनरावलोकनका लागि सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ । आयोगका अनुसार विशेष अदालतको फैसला चित्त नबुझेका कारण रामशाहपथस्थित सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको हो ।




