काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ बतासेस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा बुधबार दिउँसो टाटा सुमो दुर्घटना भएको छ । दुर्घटनामा परी एक जना महिला घाइते भएकी छन् ।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ६९५६ नम्बरको टाटा सुमो दिउँसो करिब ४:५० बजे दुर्घटनामा परेको हो । प्रहरीका अनुसार सुमोको अचानक ब्रेक जाम हुँदा अनियन्त्रित भई सडकको बीचमै पल्टिएको थियो ।
सुमोमा चालकसहित ९ जना सवार रहेकोमा एक जना महिला सामान्य घाइते भएकी छन् । अन्दाजी ४५/५० वर्षकी ती महिलाको नाम र वतन खुल्न सकेको छैन ।
टाउकोमा चोट लागेकी उनलाई प्रहरी टोली पुग्नुअघि नै उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । अन्य यात्रुहरूको अवस्था सामान्य रहेको छ । दुर्घटनाग्रस्त सुमोलाई सडक छेउमा राखी बाटो सुचारु गरिएको प्रहरीले जनाएको छ ।




