काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका १० बस्ने तनहुँ भिमाद गाउँपालिका ५ घर भएका ३२ वर्षीय रोविन जि. आर र काठमाडौं महानगरपालिका ७ बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका ६ घर भएकी ४८ वर्षीया गीता माया मगर रहेका छन् ।
पक्राउ मध्ये रोविनले पोर्चुगल पठाइदिछु भन्दै १ जना पीडितबाट २ लाख १० हजार रूपैयाँ र गीताले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ८ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रोविनलाई काठमाडौं महानगरपालिका १४ बाट र गीतालाई काठमाडौं महानगरपालिका ७ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




