काठमाडौं । हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ सडक अन्तर्गत बकैया गाउँपालिका ११ आपचौरको मोडमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बिहिबार दिउँसो भएको दुर्घटनामा पर्सा, वीरगन्ज महानगरपालिका १० पानी ट्याङकीका ५० वर्षीय अनुराग श्रेष्ठको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
जितपुर भन्ज्याङबाट ठिंगनतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०९५२ नम्बरको बलगर ट्रकले म प्र ०३–०३९ प ५६४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो ।
अस्पतालमा लगेपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीले जनाएको छ । मृतकको शव हेटौँडा अस्पतालमा राखिएको छ । यस्तै दुर्घटनामा संलग्न ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।




