बारा । बारा निर्वाचन क्षेत्र नं. ४ मा अघिल्लो निर्वाचनमा फराकिलो मतान्तरसहित विजयी भएका पूर्वमन्त्री किसान श्रेष्ठका लागि यस पटकको चुनाव सहज देखिदैन । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बहुदलीय गठबन्धनको समर्थनमा १० हजारभन्दा बढी मतान्तरले जित हात पारेका श्रेष्ठ यस पटक भने प्रमुख दलहरूसँग एक्ला एक्लै प्रतिस्पर्धामा उत्रिएका छन् ।
गत निर्वाचनमा नेपाली कांग्रेस, तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र लोसपाको गठबन्धनबाट निर्वाचित भएका श्रेष्ठले यस पटक एमाले, कांग्रेस, रास्वपा, लोसपा–जसपा गठबन्धनसहितका उम्मेदवारसँग प्रत्यक्ष भिडन्त गर्नुपर्ने अवस्था आएको छ ।
स्थानीयस्तरमा एमालेको संगठन बलियो भएपनि पछिल्लो समय देखिएको ‘जेनजी’ आन्दोलनपछि पार्टीको जनसमर्थन केही कमजोर बनेको स्थानीयको बुझाइ छ । उता, झण्डै नौ वर्षपछि आफ्ना उम्मेदवारलाई रूख चिह्नमा मतदान गर्न पाउँदा नेपाली कांग्रेसका कार्यकर्ता उत्साहित देखिन्छन् ।
बहुपक्षीय प्रतिस्पर्धा
श्रेष्ठसँगै नेपाली कांग्रेसबाट श्यामबाबु गुप्ता, नेकपाबाट अजय कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रहबर अन्सारी र लोसपा–जसपा गठबन्धनबाट सञ्जु साह चुनावी मैदानमा छन् । यस बाहेक नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ पनि उम्मेदवार छन् ।
२०७९ को निर्वाचनमा बारा ४ मा समानुपातिकतर्फ एमालेले १४ हजार ७८८ मत प्राप्त गरेको थियो । लोसपाले १० हजार ९११, कांग्रेसले ६ हजार ४७२, माओवादी केन्द्रले ६ हजार ५६१, तत्कालीन नेकपा एसले ४ हजार ६९१ र रास्वपाले ६ हजार २५६ मत ल्याएका थिए ।
तत्कालीन माओवादी केन्द्र र नेकपा एसको समानुपातिक मत जोड्दा करिव ११ हजार २०० मत नेकपाको परम्परागत आधार देखिएपनि पार्टी उम्मेदवार प्रति कार्यकर्ताको उत्साह भने कमजोर देखिएको छ ।
स्थानीय शक्ति सन्तुलन
यो निर्वाचन क्षेत्र अन्तर्गत जितपुरसिमरा उपमहानगरसहित परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिका गरी ३८ वडा पर्छन् । पाँचमध्ये प्रसौनी र परवानीपुरमा एमालेको नेतृत्व छ भने जितपुरसिमरा उपमहानगर तत्कालीन माओवादी केन्द्र, विश्रामपुर लोसपा र फेटा गाउँपालिकामा विवेकशील साझा पार्टीको नेतृत्व रहेको छ ।
नयाँ अनुहार रास्वपा र कांग्रेसमा
नेपाली कांग्रेसका उम्मेदवार श्यामबाबु गुप्ता यस क्षेत्रका लागि नयाँ अनुहार हुन् । युवामाझ लोकप्रिय मानिने गुप्ताले यसअघि जितपुरसिमरा उपमहानगर प्रमुख र प्रदेशसभा सदस्यको उम्मेदवारीका लागि प्रयास गर्दै आएका थिए ।
पछिल्लो समय पार्टीभित्र देखिएको आन्तरिक प्रतिस्पर्धामा उनी टिकट हात पार्न सफल भएका हुन् । पार्टीलाई एकताबद्ध गर्दै युवाको भावना समेट्ने उद्देश्यले उम्मेदवारी दिएको उनको भनाइ छ ।
एमाले र कांग्रेसपछि रास्वपाका रहबर अन्सारी पनि प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट मधेस प्रदेशसभा सदस्य निर्वाचित अन्सारी मनोनयनअघि मात्रै रास्वपा प्रवेश गरेका हुन् । वीरगञ्ज निवासी अन्सारी २०७९ मा पर्सा क्षेत्र नं. १ (१) बाट प्रदेशसभा सदस्य बनेका थिए ।
फरक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका अन्सारीलाई जितपुरसिमराका वडा नं. १ देखि ४ तथा उत्तरी क्षेत्रमा समर्थन देखिए पनि दक्षिणी भेगमा पार्टी संगठन कमजोर रहेको बताइन्छ ।
आर्थिक र रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्र
पूर्व–पश्चिम राजमार्गसँग जोडिएको बारा ४ आर्थिक गतिविधिका दृष्टिले महत्त्वपूर्ण क्षेत्र मानिन्छ । बारा–पर्सा औद्योगिक करिडोर, मधेस प्रदेशको एक मात्र राष्ट्रिय निकुञ्ज पर्सा, विशेष आर्थिक क्षेत्र, मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन र वीरगञ्ज महानगरसँगको पहुँचले यस क्षेत्रको रणनीतिक महत्त्व बढाएको छ ।
कृषि, मजदुर रोजगारी, तरकारी तथा खाद्यान्न उत्पादन र माछापालनका लागि प्रसिद्ध यस क्षेत्रमा चुरेभावरदेखि मधेसको समथर उर्वर भूमि पर्दछ । शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर तुलनात्मक रूपमा बढी भएपनि कृषि सिँचाइको अभाव र औद्योगिक प्रदूषण यहाँका प्रमुख चुनौतीका रूपमा रहेका छन् ।




