काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका २ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका ३ घर भएका ३८ वर्षीय कृष्णजी थापा, काठमाडौं महानगरपालिका ३१ बस्ने सप्तरी तिलाठी कोईलाडी गाउँपालिका ६ घर भएका २२ वर्षीय अनिल कुमार साह र काठमाडौं चन्द्रागिरी नगरपालिका ३ बस्ने ललितपुर महानगरपालिका १६ घर भएका ३० वर्षीय विवेक भुजेल रहेका छन् ।
पक्राउ मध्ये कृष्णजीले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ३० हजार रूपैयाँ, अनिलले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १८ लाख रूपैयाँ र विवेकले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्णजीलाई काठमाडौं तारकेश्वर नगरपालिका २ बाट र अनिललाई काठमाडौं महानगरपलिका ३१ बाट सोमबार तथा विवेकलाई काठमाडौं महानगरपालिका १३ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




