काठमाडौं । दुई निर्वाचन क्षेत्रमा पराजित हुँदा हुँदै पनि १७ महिनासम्म देशको प्रधानमन्त्री बन्ने दुर्लभ राजनीतिक संयोग माधवकुमार नेपालको जीवनमा जोडिएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं २ र रौतहट १ दुवै क्षेत्रमा पराजय व्यहोरेका नेपाल त्यस बेला नेकपा एमालेका महासचिव थिए ।
निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ जम्मा २५ सिट मात्र जितेपछि पार्टी र आफ्नै पराजयको नैतिक जिम्मेवारी लिँदै नेपालले महासचिव पदबाट राजीनामा दिएका थिए । सो निर्वाचनमा तत्कालीन नेकपा माओवादीले २४० प्रत्यक्ष सिटमध्ये १२० सिट जित्दै संविधान सभाको सबैभन्दा ठूलो दल बनेको थियो ।
संविधान निर्माणको जिम्मेवारी बोकेको माओवादी नेतृत्वले माधव नेपाललाई प्रक्रियाबाट बाहिर राख्न नहुने ठहर गर्दै मन्त्रिपरिषद्बाट मनोनीत हुने कोटामा उनको नाम सिफारिस गरेको थियो । यसै आधारमा नेपाल संविधान सभा सदस्यमा मनोनीत भए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठन भएपनि नौ महिनामै प्रधानसेनापति प्रकरणका कारण सरकार ढल्यो । त्यसपछि संविधान सभाको शक्ति सन्तुलनका आधारमा चुनावमा पराजित भएका माधव नेपाल देशको प्रधानमन्त्री बने ।
यद्यपि माओवादीले उनको सरकारलाई सहज रूपमा स्वीकार गरेन । सरकारविरुद्ध आन्दोलन चर्किएपछि नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिए । तर राजनीतिक अस्थिरताका कारण नयाँ प्रधानमन्त्री चयन हुन नसक्दा नेपाल झण्डै सात महिनासम्म कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारीमा रहे ।
२०७८ सालमा एमाले विभाजन गर्दै नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरे । त्यसपछि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग गठबन्धन गर्दै रौतहट १ बाट उम्मेदवार बने । गठबन्धनको बलमा उनले ३३ हजार ५२२ मत ल्याउँदै विजय हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका अजयकुमार गुप्ताले २६ हजार ९२२ मत प्राप्त गरेका थिए ।
तर आगामी निर्वाचनमा नेपालको अवस्था त्यति सहज देखिँदैन । रौतहट १ मा यस पटक कुनै पनि गठबन्धन नबनाइँदा नेपाल ‘डेन्जर जोन’मा परेको स्थानीय नेताहरू बताउँछन् । अघिल्लो निर्वाचनमा उनलाई नेपाली कांग्रेस सहयोग थियो ।
यस पटक कांग्रेस आफैं चुनावी मैदानमा उत्रिएको छ । यस्तो अवस्थामा नेपाललाई माओवादी केन्द्र र आफ्नो पार्टी नेकपा एसको मतमै निर्भर रहनुपर्ने देखिन्छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रको २ हजार ७९१ र नेकपा एसको ९ हजार ५७८ मत जोड्दा कुल १२ हजार ३६१ मत मात्र हुन्छ, जुन मतसंख्या उनलाई पुनः निर्वाचित हुन पर्याप्त नहुन सक्ने विश्लेषण गरिन्छ ।
उता एमालेले अघिल्लै उम्मेदवार अजयकुमार गुप्तालाई पुनः मैदानमा उतारेको छ । यसले रौतहट १ मा प्रतिस्पर्धा अझ कडा हुने संकेत गरेको छ । आफ्नै पार्टीका नेता कार्यकर्ताहरू पनि यस पटक माधव नेपालले ठूलो चुनौतीको सामना गर्नुपर्ने स्वीकार गर्छन् ।




