काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले महानगरको जिम्मेवारी प्रभावकारी रूपमा सम्हाल्न नसक्ने व्यक्ति देशको नेतृत्व दाबी गर्नु स्वाभाविक रूपमा प्रश्न योग्य हुने बताएका छन् ।
शनिबार धनकुटामा आयोजित पार्टीको निर्वाचन परिचालन सम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै साहले देश परिवर्तन र सुधारको चरणमा रहेको भन्दै त्यसका लागि निर्वाचन नै मुख्य माध्यम भएको बताए ।
उनले निर्वाचन प्रक्रियामा अवरोध सिर्जना गर्ने वा वर्तमान सत्ता लम्ब्याउने कुनै पनि प्रयासलाई जनताले स्वीकार नगर्ने चेतावनी दिए । उनले वर्तमान राजनीतिक गतिविधिहरूलाई जनताले नजिकबाट नियालिरहेको उल्लेख गर्दै निर्वाचनमार्फत असल विकल्प रोज्नुपर्ने धारणा राखे ।
साहले यो निर्वाचनलाई परिवर्तनको संघर्षका रूपमा प्रयोग गर्नुपर्ने भन्दै जनतालाई सचेत र सजग रहन आग्रह गरे । साहले केही चर्चित राजनीतिक पात्रहरूले देशलाई स्पष्ट दिशा दिन नसक्ने दाबी गर्दै ती पात्रहरू पहिले नै परीक्षण भइसकेको बताए ।
उनले नयाँ विकल्पको नाममा पुनः जनतालाई भ्रममा पार्ने प्रयास भइरहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । काठमाडौं महानगरपालिकाको नेतृत्वको प्रसङ्ग उठाउँदै साहले पर्याप्त बजेट हुँदा हुँदै पनि अपेक्षित विकास र सेवा प्रवाह हुन नसकेको टिप्पणी गरे ।
महानगरको पुँजीगत खर्च सन्तोषजनक नभएको, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार देखिन नसकेको तथा करको तुलनामा सेवा कमजोर रहेको उनको भनाइ थियो ।
उनले महानगर नेतृत्वले जनतासँगको प्रत्यक्ष सम्बन्ध मजबुत बनाउन नसकेको भन्दै स्थानीय तहको नेतृत्व जनमुखी र जवाफ देही हुनुपर्नेमा जोड दिए ।
आम जनता पार्टी गठनदेखि नै आफूले जनताको आवाज उठाउँदै आएको उल्लेख गर्दै साहले आगामी निर्वाचनमा भ्रष्टाचारविरुद्ध स्पष्ट धारणा भएका र सेवा भावका साथ काम गर्ने प्रतिनिधि संसद्मा पुग्नुपर्ने बताए ।
धनकुटा ऐतिहासिक रूपमा राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण जिल्ला भएको उल्लेख गर्दै उनले जनताको सेवा गर्न सक्ने प्रतिनिधि छनोट गर्न आग्रह गरे ।




