राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्षका पूर्वप्रत्याशी मुनिलाल खंग (खत्वे) ले दुई दिनमै पार्टी परिवर्तन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको छोटो समयमै उनी जनता समाजवादी पार्टी (जसपा) नेपालमा आबद्ध भएका हुन् ।
तत्कालीन नेकपा माओवादी केन्द्रबाट राजनीति सुरु गरेका खंग २०७९ सालको स्थानीय तह निर्वाचनमा विष्णुपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार थिए । सो निर्वाचनमा उनले १ हजार १८३ मत प्राप्त गरेका थिए ।
उक्त निर्वाचनमा जसपा नेपालका उमेशप्रसाद यादवले ३ हजार १६४ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका थिए भने खंग चौथो स्थानमा सीमित भएका थिए ।
खंग दुई दिनअघि मात्रै सप्तरी क्षेत्र नं. ३ बाट रास्वपाका उम्मेदवार अमरकान्त चौधरीको पहलमा रास्वपामा प्रवेश गरेका थिए । तर पार्टी प्रवेश गरेको दुई दिन नबित्दै उनले जसपा नेपाल रोजेका हुन् ।
शनिबार जमुनी मधेपुरमा आयोजित कार्यक्रममा जसपा नेपालका अध्यक्ष तथा सप्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार उपेन्द्र यादवले खंगलाई पार्टीमा स्वागत गर्दै औपचारिक रूपमा प्रवेश गराएका छन् ।




