रौतहट । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रौतहट निर्वाचन क्षेत्र नम्बर १ को चुनावी माहोल निकै रोचक बन्दै गएको छ । यस क्षेत्रमा यस पटक पाँच प्रभावशाली उम्मेदवार बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ, जसले निर्वाचनलाई बहुपक्षीय र अनिश्चित बनाएको छ ।
यो क्षेत्रबाट पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अनिलकुमार झा, नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ता, जसपा नेपालका नेता तथा पूर्व राज्यमन्त्री योगेन्द्रप्रसाद यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरी चुनावी मैदानमा छन् । यी पाँचै जनालाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।
परिवर्तनको चाहना र मतदाताको मनोविज्ञान
देशभर भ्रष्टाचार, बेथिति र सुशासन प्रतिको असन्तुष्टिले जनमानसमा परिवर्तनको तीव्र चाहना देखिएको छ । भदौ २३–२४ मा जेनजी पुस्ताको सक्रिय आन्दोलनपछि राजनीतिमा देखिएको नयाँ चेतनाले पुराना दलभन्दा नयाँ दल र नयाँ अनुहार प्रति मतदाताको आकर्षण बढाएको विश्लेषकहरू बताउँछन् ।
विशेष गरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह प्रति देखिएको जनविश्वासले परम्परागत दलहरूलाई मतदाता मनाउन थप चुनौती थपेको छ । यस क्रममा नेकपा एमाले प्रति मतदाताको धारणा अन्य दलको तुलनामा बढी आलोचनात्मक देखिएको स्थानीयको भनाइ छ ।
उम्मेदवारहरूको अवस्था
माधवकुमार नेपाल
२०५६ सालमा यही क्षेत्रबाट विजयी भएका नेपाल २०७० र २०७९ मा पुन: रौतहट १ बाट निर्वाचित भएका थिए । यद्यपि, पटक पटक अवसर पाएपनि बाढी नियन्त्रण, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत मुद्दामा अपेक्षित सुधार नआएको भन्दै यस पटक उनी आलोचनाको घेरामा छन् । राजनीतिक विश्लेषकहरूका अनुसार यस पटक नेपाललाई जित सुनिश्चित गर्न मतदाताको भरोसा पुन: जित्न कडा मेहनत आवश्यक छ ।
अनिलकुमार झा (नेपाली कांग्रेस)
२०७४ मा निर्वाचित झा मधेशवादी राजनीतिबाट उदाएका नेता हुन् । गौर–गंगापिपरा–समनपुर सडक कालोपत्रेमा उनको योगदान उल्लेख्य मानिन्छ । यद्यपि, जनअपेक्षा अनुसार प्रभाव छोड्न नसकेको टिप्पणी पनि सुनिन्छ । कांग्रेसको सांगठनिक समर्थन मजबुत भएमा उनी प्रतिस्पर्धामा बलियो बन्न सक्ने आकलन छ ।
अजयकुमार गुप्ता (नेकपा एमाले)
तीन पटक संसदीय निर्वाचनमा पराजित भएपनि गुप्ता पुन: एमालेको सूर्य चिन्हसहित मैदानमा छन् । दुई पटक गौर नगरपालिकाको नगरप्रमुख भइसकेका उनी स्थानीय तहको अनुभवलाई आधार बनाउँदै सहानुभूति मतको अपेक्षा गरिरहेका छन् ।
योगेन्द्रप्रसाद यादव (जसपा नेपाल)
२०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भई कृषि सहकारी राज्यमन्त्री समेत बनेका यादवले आफ्नो कार्यकालमा केही विकास परियोजना अघि बढाएका थिए । जातीय समीकरण र संगठनात्मक आधार उनका मुख्य शक्ति मानिन्छन् ।
राजेश चौधरी (रास्वपा)
किसान परिवारबाट उदाएका उद्योगी व्यवसायी चौधरी राजनीतिक रूपमा नयाँ भएपनि परिवर्तनको लहरले उनलाई बलियो बनाएको छ । ‘घण्टी’ चुनाव चिन्ह प्रति देखिएको जनउत्साहले उनलाई प्रतिस्पर्धाको केन्द्रमा ल्याएको छ ।
अन्तत: विगतको राजनीतिक इतिहास र वर्तमान जनभावना दुवैलाई हेर्दा रौतहट १ मा यस पटक बहुकोणीय र कडा प्रतिस्पर्धा हुने निश्चित देखिन्छ । करिब तीन दर्जन उम्मेदवार भएपनि निर्णायक भिडन्त यी पाँच जनाबीच सीमित हुने अनुमान गरिएको छ ।
फागुन २१ मा मतदाताले गर्ने निर्णयले पुरानो राजनीतिक निरन्तरता रोज्छ कि परिवर्तनको बाटो खोल्छ, त्यसको उत्तर दिनेछ । रौतहट १ को यो निर्वाचन सबै उम्मेदवारका लागि ‘अग्निपरीक्षा’ सावित हुने देखिएको छ ।




